लमजुङमा ५ महिनामा ९ वटा लैंगिक हिंसाको उजुरी दर्ता
लमजुङ, २१९ मंसिर | लमजुङमा करिब ५ महिनाको अवधिमा लैंगिक हिंसासम्बन्धी नाैवटा अपराधका घटना भएका पाइएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार आर्थिक वर्ष २०७९/८० को साउनदेखि हालसम्म नाैवटा उजुरी परेको हो । कार्यालयका प्रमुख एवं प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलका अनुसार चालु आर्थिक बर्षमा जबरजस्ती करणीसम्बन्धी अपराध चारवटा भएको पाइएको छ । जबरजस्ती करणी उद्योगसम्बन्धी अपराध तीनवटा भएको छ । अवैध गर्भपतनसम्बन्धी एउटा र बालयौन दुरुपयोगका घटना एउटा भएको श्रीमलले बताए । आर्थिक बर्ष २०७८/७९ मा ३२ वटा लैंगिक हिंसासम्बन्धी उजुरी परेको थियो । सबैभन्दा धेरै जबरजस्ती करणीसम्बन्धी २० वटा परेको थियो । जबरजस्ती करणी उद्योगको तीनवटा, बालविवाहसम्बन्धी एउटा, बहुविवाहसम्बन्धी पाँचवटा परेको थियो । मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी एउटा र बालयौन दुरुपयोगसम्बन्धी दुईवटा घटना घटेको थियो । यस्तै, आर्थिक बर्ष २०७७/०७८ मा २६ वटा घटना भएको थियो । जबरजस्ती करणीसम्बन्धी १५ वटा उजुरी परेको थियो । जबरजस्ती करणी उद्योगसम्बन्धी चारवटा, बहुविवाहसम्बन्धी पाँचवटा घटना भएको थियो । बोक्सीको आरोपसम्बन्धी एउटा र बालयौन दुरुपयोगसम्बन्धी एउटा उजुरी परेको थियो । करिब साढे दुई वर्षको तथ्यांक हेर्दा ६७ वटा लैगिंक हिंसासम्बन्धी अपराध भएको पाइएको छ । विगतका वर्षमा भन्दा घटनामा केही कमी आएको प्रहरीले जनाएको छ ।
नागरिकमा सचेतना वृद्धि भएको, हिंसाप्रति सचेत भएकाले पनि केही कमी आएको प्रहरीले बताएको छ ।