प्रधानमन्त्री प्रचण्डले चैत ६ मा विश्वासको मत लिने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । चैत ५ मा संसद बैठक चलेपछि त्यसको भोलिपल्ट उनले विश्वासको मत लिने गरी तयारी थालेका हुन् । त्यसका लागि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने व्यवस्था मिलाइदिन भन्दै संघीय संसद् सचिवालयलाई पत्र पठाएका हुन् । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि बिहीबार पत्र पठाएका हुन् । ‘प्रधानमन्त्रीले विश्वासको मत लिने एजेन्डा चैत ६ गतेको कार्यसूचीमा समावेश गरिदिनू भन्दै पत्र पठाउनुभएको छ,’ प्रवक्ता गिरीले भने ।
प्रधानमन्त्री प्रचण्डले यसअघि एमालेसँगको गठबन्धन सरकारको नेतृत्व गर्दा पुस २६ मा विश्वासको मत लिएका थिए । राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा कांग्रेससँग गठबन्धन गरेका प्रचण्डले चैत ६ गते विश्वासको मत लिन लागेका हुन् । वर्तमान सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायत रहेका छन् । यस अगाडी प्रचण्डले संसदमा विश्वासको मत लिँदा कांग्रेस, एमाले लगायत सवै जसो दलले मत दिएका थिए । उनले असाधारण विश्वासको मत पाएका थिए ।