कांग्रेसबाट तनहुँ–१ मा उम्मेदवार बन्न १३ जनाको दरखास्त
काठमाडौं , १२ चैत । तनहुँ–१ मा हुने उपनिर्वाचनमा पार्टीबाट उम्मेदवार बन्न नेपाली कांग्रेसका १३ जनाले दरखास्त दिएका छन् । निर्वाचन आयोगले १० बैशाखका लागि तोकेको उपनिर्वाचनमा उम्मेदवार बन्नेले निवेदन दिन नेपाली कांग्रेसले शनिबारसम्मको समय छुट्टाएको थियो ।नेपाली कांग्रेसको क्षेत्रीय समितिले छुट्टाइएको समय शनिबारसम्म १३ जनाको उम्मेदवार बन्नका लागि निवेदन परेको क्षेत्रीय सचिव दयानिधी नरालले जानकारी दिए । तनहुँ १ प्रतिनिधि सभा सदस्य क्षेत्रीय कार्य समितिले शुक्रबार ६ जना र शनिबार सात जनाले उम्मेदावार बन्न पाउँ भनि निवेदन दिएको जानकारी दिए ।
क्षेत्रीय सचिव नरालका अनुसार अनुसार केन्द्रीय सदस्य गोविन्द भट्टराई, पूर्व जिल्ला सभापति रघुनाथ पौडेल, महाधिवेशन प्रतिनिधिहरु रामचन्द्र अधिकारी, दीपक भट्टराई, लक्ष्मी आचार्य र आँबुखैरेनी सभापति विष्णु पन्तले शुक्रबार निवेदन दिएक थिए ।शनिबार संविधान सभा सदस्य रामचन्द्र पोख्रेल, नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, क्षेत्रीय सभापति श्यामकुमार मौरती, पूर्व सचिव समुन्द्र गोदार, नेताहरु डोबाटे विश्वकर्मा, सरिता गुरुङ र अर्जुनबहादुर अधिकारीले निवेदन दिएका छन् । तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यहाँ उपनिर्वाचन हुँदैछ।