राम्रो मान्छे चुनेर मात्रै क्रियाशील सदस्यता दिनुपर्छ : शशांक कोइराला
काठमाडौं,०७ साउन। नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले राम्रो मान्छे चुनेर मात्रै क्रियाशील सदस्यता दिनु पर्ने बताएका छन् ।आइतबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै नेता कोइरालाले क्रियाशील सदस्य बढाएर मात्रै पार्टी संगठित नहुने धारणा राखेका हुन् ।
उनले कांग्रेसको नीति ठिक हो भनेर मनैदेखि नलागेसम्म क्रियाशील सदस्य बढाउनु नहुने बताएका हुन् । उनले भने, ‘हामीले कस्तो किसिमको क्रियाशील दिँदै छौँ ?, केन्द्रबाट दिँदै छौँ, हामीले वडा, टोलबाट दिइरहेका छौ कि ? क्रियाशिल सदस्य बढाएर मात्रै पार्टी संगठित हुँदैन, जबसम्म भित्रबाट लाग्दैन कि कांग्रेसको नीति ठिक हो भनेर, तसर्थ बढाउनतर्फ नलागौँ, राम्रो मान्छे चुनेर मात्रै गरौँ ।’
नेता कोइरालाले पार्टीले आगामी २० वर्षका लागि आफ्नो बाटो तय गर्नु पर्ने बताए । पार्टीले आफ्नो लक्ष्य स्पष्ट पार्नु पर्ने भन्दै उनले सत्तामा जानेमात्र होइन रुपान्तरण गर्नु पर्र्नेमा जोड दिए ।



















