खाँणको बचाउमा उत्रियाे कांग्रेस संस्थापन
काठमाडौं ,०८ साउन। कांग्रेसका संस्थापन पक्षधर नेताहरूले भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका केन्द्रिय सदस्य बालकृष्ण खाँणको बचाउ गरेका छन्। नक्कली शरणार्थी प्रकरणबारेको मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै उनीहरू खाँणको बचाउमा उत्रिएका हुन् ।
२ गते देखी जारी केन्द्रीय समिति बैठकमा संस्थापन पक्षका सदस्यहरू खाँणकाे बचाउमा खुलेरै लागेका छन् । आइतबारको बैठकमा सहमहामन्त्री महेन्द्र यादवले खाणलाई राज्यले फसाएको आरोप लगाए । उनले खाँणमाथि ठगीमा मात्र नभई राजद्रोहको मुद्दा लगाइएको पनि बताएका थिए।
त्यस्तै, सहमहामन्त्री महालक्ष्मी उपाध्यायले पनि पार्टी खाँणको पक्षमा उभिनुपर्ने बताइन् । उनले खाँणमाथिको आरोप प्रमाणित गराउन पार्टीकै नेताहरूले दबाब दिएको बताइन्।
पराराष्ट्रमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य एनपी साउदले अदालतको फैसला नआउँदासम्म खाणलाई पार्टीले कारबाही गर्न नहुने जिकिर गरे । उनले खाँणलाई लक्षित गर्दै अनुसन्धानमा सघाउँदै आएको व्यक्तिलाई कारबाही गरे पार्टीको हित नहुने बताए।
केन्द्रीय सदस्य शेखर कोइरालाले राज्यका जिम्मेवार निकायहरूकै कारण देशमा पछिल्ला दिनहरूमा दण्डहिनता बढ्दै गएको बताए। नीतिगतरुपमै कानुन बनाएर दण्डहिनतालाई प्रश्रय दिने काम भइरहेको भन्दै उनले हाल संसदमा रहेको ‘मुलुकी संहितासम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक ‘२०८००’ तत्काल खारेज गरिनुपर्ने बताए।
यस्तै केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भ्रष्टाचारका विषयमा मौन बसे पार्टीलाई क्षति हुने भन्दै संलग्नलाई कारबाहीसँगै भ्रष्टाचारको विरोधमा अभियान नै सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
पार्टीकाे केन्द्रिय समिति बैठक आजपनि बस्दैछ । आजको बैठकमा बाँकी केन्द्रिय सदस्यहरुले धारणा राख्ने कार्यक्रम रहेको छ । बैठक दिउँसो ३ बजे बोलाइएको छ ।



















