फकाएर भारत लैजान लागिएका तीन बालकको उद्धार
झापा । झापाको काँकडभिट्टा–पानीटंकी नाकाबाट भारत लैजान लागिएका तीन नेपाली बालकको उद्धार गरिएको छ । अपरिचित व्यक्तिले ललाईफकाई भारत लैजाँदै गरेका ती बालकहरूलाई भारतीय एसएसबीले सीमा नाकाबाटै उद्धार गरेको थियो । उद्धार गरिएका बालकहरूलाई एसएसबीले सशस्त्र प्रहरीलाई जिम्मा लगाएको छ । मेचीनगर नगरपालिका– १० स्थित धुलाबारी पाथीभरा टोलका १५ वर्षीय विशाल दनुवार, १२ वर्षीय युवराज तामाङ र १२ वर्षीय सूर्य चौधरीको उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डीएसपी दिनेश कटुवालले जानकारी दिए ।
बालकहरूलाई भारततर्फ लगिरहेको सूचना पाएलगतै सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाको टोलीले तत्काल भारतीय एसएसबीसँग समन्वय गरेको थियो । एसएसबीले उद्धार गरेका बालकहरूलाई सोमबार राती साढे ८ बजे सशस्त्रलाई जिम्मा लगाएको डीएसपी कटुवालले जानकारी दिए । त्यसपछि बालकहरूलाई आआफ्नो अभिभावकको जिम्मा लगाउन भनी विश्व सेवा विस्तार संस्थाका प्रतिनिधिलाई बुझाइसकेको कटुवालले जानकारी दिए ।