संविधानले पुनःक्रान्तिको आवश्यकता अन्त्य गरेको छ : सभामुख घिमिरे
काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालको विद्यमान संविधानले नागरिकका मौलिक हक र लोकतान्त्रिक राज्यव्यवस्थाको प्रत्याभूति गरेकाले परिवर्तनका लागि अब अर्को कुनै क्रान्तिको आवश्यकता नरहेको बताएका छन् । संविधान दिवसको शुभकामना सन्देशमार्फत सभामुख घिमिरेले संविधानको मर्म र भावनाअनुसार राजनीतिक नेतृत्व चल्नुपर्ने आवश्यकता पनि औँल्याएका छन् ।“संविधानले राज्यका अङ्गको निर्धारण, अधिकारको विभाजन र सन्तुलन ९शक्ति पृथकीकरण० को बलियो प्रबन्ध गरेकाले पुनःक्रान्तिको आवश्यकता अन्त्य गरेको छ । तर, संविधानको भावनाअनुरूप हिँड्दै नेतृत्वको चरित्र प्रजातान्त्रिक र लोकतान्त्रिक हुन जरुरी छ”, सभामुख घिमिरेको शुभकामना सन्देशमा भनिएको छ ।
संविधान मुलुकको सर्वोच्च कानून हो । संविधान जारी भएको पछिल्लो आठ वर्षमा संविधान कार्यान्वयनका धेरै काम सम्पन्न भएको र संविधानबमोजिम नै आवधिक निर्वाचनबाट निर्वाचित सरकार तीनवटै तहमा क्रियाशील रहेको उनको भनाइ छ । नयाँ संविधानको निर्माणसँगै गणतन्त्र, सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षताजस्ता विषय संस्थागत भएको उल्लेख गर्नुहुँदै सभामुख घिमिरेले समाजमा विद्यमान विभेद र असमानता अन्त्य गर्दै समृद्धि र सामाजिक न्यायको गन्तव्य संविधानमार्फत सुनिश्चित भएको बताएका छन् ।
संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा संसद्ले विशेष ध्यान र सक्रियता दिएको उनको भनाइ छ । “संसद्ले एकाधबाहेकका कानूनहरू निर्माण गरिसकेको छ । तर, दीर्घकालीन असर गर्ने केही कानूनबारे छलफल र बहस भइरहेका छन् । आशा छ, जसरी सहमतिको जगमा संविधान निर्माण गरेका छौँ, संविधान कार्यान्वयन गर्न आवश्यक ऐनहरू राजनीतिक सहमतिबाटै टुङ्गोमा पुर्याउनेछौँ”, शुभकामना सन्देशमार्फत उहाँले भन्नुभएको छ, “संविधानले विकास गरेका प्रणालीको सही सञ्चालन, व्यवस्थापन र कार्यान्वयन गर्न सकेमात्रै जनतालाई अनुभूत गराउन सक्दछौँ ।”