जापान, कतार, अमेरिकालगायत देश पठाउने नाममा ४३ जनासँग झण्डै ४ करोडको ठगी
काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भन्दै एक नीजि कम्पनीले ४३ जना नागरिकलाई ठगी गरेको खुलेको छ । विस एचआर सोलुसन प्राइभेट लिभिटेड (इजाजतपत्र नम्बर १४२५।०७४।०७५ ) का सञ्चालक तुलसीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामी, अमृत श्रेष्ठ तथा कर्मचारी रमेश कोइराला भनिने फडिन्द्र कोइरालाले ४३ जना नागकिरलाई झण्डै ४ करोड बराबरको रकम ठगी गरेको खुलेको हो ।
यसरी ठगिनेमा सरिता भुजेल लगायतका ४३ जना छन् । उनीहरुलाई पोल्यान्ड, क्रोएसिया, जापान, कतार तथा अमेरिका समेतका देशहरुमा वैदेशिक रोजगारीमा पठाईदिन्छु भनेर उनीहरुले पैसा लिएर ठगी गरेको हुन् । पैसा लिएपनि नपठाएको र पैसा पनि फिर्ता नगरेपछि उनीहरुविरुद्द वैदेशिक रोजगार न्यायाधिकरणमा अभियोजन दर्ता भएको छ । ४३ जनासँग उनीहरुले कुलमा तीन करोड बयासी लाख २८ हजार चार सय अन्ठान्नब्बे रुपैया ठगी गरेको भन्दै उजुरी परेको हो ।
बैदेसिक रोजगार ऐन २०६४ को दफा ४४ वमोजिम कसुर गरेकोले उक्त कम्पनीको इजाजत पत्र खारेज गरी ४३ जनाको विगो र सो को पचास प्रतिशतले हुन आउने हर्जना समेत भराई पाउन भन्दै अभियोजन दर्ता भएको हो । उजुरी असोज २ मा दर्ता भएको वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकारी कविराज उप्रेतिले जानकारी दिएका छन् ।
