दुबईबाट नेपाल आएर बस्नेतले गरे आमाछोरीको हत्या
काठमाडौँ । सल्यानको सिद्धकुमाख गाउँपालिका–२, खानीगाउँका २८ वर्षीय कर्णबहादुर बस्नेतले दुबईबाट नेपाल आएर अर्काकी श्रीमति र छोरीको हत्या गरेका छन् । बिहीबार सल्यान प्रह्रीले पत्रकार सम्मेलन गरेर बुधबार जिल्लाको सिद्धकुमाख गाउँपालिका–३, ढोरचौरबाट प्रक्राउ गरेका बस्नेतलाई सार्वजनिक गरेको छ ।
गत भदौ ३० गते राति जिल्लाको त्रिवेणी गाउँपालिका–२, काँरागिठी झालेढुंगास्थित थापा टोल बस्ने सुकलाल थापाको टिनले छाएको एकतले कच्ची घरमा थापाकी श्रीमती वर्ष २९ की रेवती थापा र उनकी छोरी ९ महिनाकी रितु थापाको जलेको अवस्थामा शव फेला परेको थियो । साँझ सकुशल सुतेका आमाछोरी बिहान अबेरसम्म नउठेपछि छिमेकीले ढोका खोलेर हेर्दा जलेको अवस्थामा मृत भेटिएपछि इलाका प्रहरी कार्यालय लुहाम सल्यानमा खबर गरेका थिए ।
स्थानीयको खबरपछि इलाका प्रहरी कार्यालय लुहाम र प्रहरी चौकी काभ्राबाट प्रहरी निरीक्षक रेशमलाल पौडेलको नेतृत्वमा सात जनाको प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको थियो । प्रहरीले घटनाको प्रकृतिअनुसार हत्या भएको हुन सक्ने निष्कर्ष निकाल्दै सूक्ष्म अनुसन्धान थालेको थियो । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी नायब उपरीक्षक नवीन कार्की तथा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी वरिष्ठ नायब निरीक्षक नारायणप्रसाद शर्माको नेतृत्वमा दुई जनाको विशेष अनुसन्धान टोलीले घटनास्थलमा अनुसन्धान सुरु गरेको थियो ।
प्रहरीले अनुसन्धानका लागि केनाइन शाखाबाट प्रहरी नायब निरीक्षक विष्णु पौडेलको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोलीसमेत घटनास्थलमा खटाएर सूक्ष्म अनुसन्धान गरेको थियो । घटना भएकै दिन प्रहरीले रेवतीको मोबाइलबाट सुराक पत्ता लगाएर बस्नेतमाथि निगरानी सुरु गरेको थियो । बस्नेत शंकास्पद देखिएपछि बुधबार उनलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको थियो ।
आरोपित बस्नेतले मृतक रेवती थापासँग पुरानो रिस साँध्नलाई हत्या गरेको प्रहरीलाई बयान दिएको जिल्ला प्रहरी प्रमुख डिएसपी नबीन कार्कीले जानकारी दिए । प्रहरी अनुसन्धानले बस्नेतको मृतक रेवतीसँग झण्डै सात वर्षअघि फेसबुकमार्फत चिनजान भएको र कुराकानी हुँदै जाँदा प्रेम सम्बन्ध रहेको देखाएको छ । उनीहरूबीच पटक–पटक शारीरिक सम्बन्ध समेत स्थापित भई विवाह गर्नेसम्मको कुरा भएको बस्नेतले स्वीकारेका छन् । उनीहरूले सहमतिमा अश्लील तस्वीर र भिडियोसमेत लिएको अनुसन्धानबाट खुलेको छ ।
प्रेम सम्बन्ध चलिरहेकै बखत बस्नेत सन् २०१८ मा वैदेशिक रोजगारीमा दुबई गएपछि रेवतीले सोही ठाउँका सुकलाल थापासँग विवाह गरेकी थिइन् । सोही विषयलाई बस्नेतले धोका र इगोको रूपमा लिएपछि घटना भएको प्रहरीले बताएको छ । प्रहरीले अनुसार पुरानो इगो र सहमतिमा लिइएका अश्लील तस्वीर र भिडियोको विषयले रेवती र बस्नेतबीच मनमुटाव सुरु भएको देखिएको बताएको छ । फोटो र भिडियोकै कारण रेवतीको पतिसँग समेत झगडा भई सम्बन्धमा केही समय समस्या आएको अनुसन्धानबाट खुलेको छ ।
करिब ८ महिनाअगाडिदेखि बस्नेतले दुबईमै नेपाल फर्कनासाथ हत्या गर्ने योजना बनाएको र चार महिनाअघि हत्या गर्नकै लागि बिदासमेत मागेको तर बिदा नपाएको बयानमा बताएका छन् । हत्या योजनासहित भदौ २६ गते दुबईबाट नेपाल आएका बस्नेतले भदौ २९ गते राति हत्या गरेको स्वीकारेका छन् । बस्नेत विगत १० वर्षदेखि वैदेशिक रोजगारीका क्रममा मलेसिया, दुवै र भारतमा बस्दै आएका थिए ।
प्रहरीका अनुसार हत्या योजना बनाएर २६ भदौमा काठमाडौंबाट सल्यान सिद्धकुमाख–२, खानीगाउँस्थित आफ्नै घरमा दुई दिन बसेका बस्नेत २९ भदौमा स्थानीय श्रीनगर बजारसम्म गाडीमा आई पेट्रोल र सलाई खरिद गरेर मृतक रेवतीको गाउँ पुगेका थिए । साँझमै गाउँ पुगे पनि केही समय जंगलमा बसेर बस्नेत रातिको करिब १० बजे मृतक रेवतीको घरभित्र पसी सुरुमा घाँटीमा कपडाले कसेर लडाएको स्वीकार गरेका छन् । त्यसपश्चात् तवरबाट शरीरमा पेट्रोल छर्की आगो लगाएपछि रेवती र ओछ्यानमा सुतिरहेकी नौ महिनाकी छोरी रितुको हत्या गरेको बस्नेतले स्वीकार गरेका छन् ।