बाँकेको बाल सुधार गृहमा झडप, १ जनाको मृत्यु, १० जना घाइते
बुटवल । बाँकेको डुडुवा गाउँपालिका वडा नं ६ स्थित जयन्दु बालसुधार गृहमा गएराति विवाद हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । मृत्युहुनेमा रुपन्देहीका २१ वर्षीय सुलभ केसी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए । उनका अनुसार झडपमा गम्भीर घाइते भएका केसीको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।
बालसुधार गृहमा तोडफोड र आगजनीसमेत भएको छ । घाइतेहरूको नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बालसुधार गृहमा समूह–समूह बनाएर भिड्नेमध्ये ११ जनालाई राति नै नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल लगेको जेल प्रमुख विमला काउचाले बताइन् । २५५ थुनुवा रहेको उक्त बाल सुधार गृहबाट ९ जना सम्पर्कविहीन भएका छन् । बाल सुधार गृहमा १८ वर्षभन्दा माथिकालाई पनि राखिएको र उनीहरुलाई व्यवस्थापन गर्न नसक्दा उनीहरुले बेलाबेला प्रहरी इन्जार्जलाई पिट्ने गरेको बाल सुधार गृह स्रोतले जानकारी दिएको छ ।