गिरिबन्धु टिस्टेटको छानबिन गर्न प्रधानमन्त्रीलाई ओलीको चुनौती
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई गिरिबन्धु टिस्टेटको फाइल खोल्न पनि चुनौती दिएका छन् । एमाले बागमती प्रदेश अधिवेशनको काठमाडौँमा उद्घाटन गर्दै अध्यक्ष ओलीले गिरिबन्धुको फाइल खोले पनि गठबन्धनकै नेताहरु नै जेल जाने दाबी गरे । फाइल खोले पनि एमालेलाई केही असर नगर्ने ओलीको भनाइ छ ।
ओलीले सरकारले सुन प्रकरणमा छानबिन गर्न नचाहेको आरोप लगाए । ‘हामीले एक महिनासम्म संघर्ष गरेर सुन तस्करीको व्यापक छलफल गर्नुपर्छ भनेर एक महिनापछि आयोग बनाउन मान्यो । किन एक महिना पर्खिनुपर्यो भने सरकार एअरपोर्टमा पक्रिनुपर्ने सुन प्रक्रिएन । पक्रिएका मान्छेलाई पनि छाडेर सबै लुकाउन लगाइयो,’ ओलीले भने ।
उनले सरकार अहिले सुन प्रकरणको छानबिन गर्न पाइँदैन भन्न थालेको आरोप लगाउँदै भने, ‘सरकार अहिले छानबिन गर्न पाइँदैन भन्छ । भविष्यमा कस्तो कानून बनाउने भन्नेबारे छलफल गरौं भन्छ । १०० किलो हामीले सुन्यौं तर एक महिनापछि ६१ किलो मात्रै भयो । बाँकी कहाँ गयो ? इलेक्ट्रिक सिग्रेटबाट ल्याइएको ९ किलो सुनको कारबाही कहाँ पुग्यो ?’ उनले सुन तस्करी गर्नको लागि नागरिकता दिएर मान्छे तयार गर्ने व्यापारी को हो ? भन्दै प्रश्न गरे ।