तीर्थ यात्रामा सीमित भयो, राष्ट्रिय हितमा केन्द्रित भएन
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण सतही अतिथिसत्कार र आफ्नै आसेपासेहरूको प्रशंसामा रमाएर बस्ने भन्दा फरक हुन नसकेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा बुधबार तिब्बतको ल्हासा पुगेर आफनो भ्रमण सोचेभन्दा राम्रो भएको बताएकै भोलिपल्ट पूर्व सहकर्मी समेत रहेका भट्टराईको त्यस्तो कडा टिप्पणी आएको हो ।
दूरदर्शी नेतृत्वले संकटलाई अवसरमा बदल्ने प्रयत्न गर्नुपर्नेमा तीर्थयात्रामा मात्र भ्रमणलाई सीमित गराएको बाबुरामको टिप्पणी छ । बिहीबार बिहान सामाजिक सन्जालमा ट्वीट गर्दै डा। भट्टराईले प्रधानमन्त्रीको चीन भ्रमण नेपालको दीर्घकालीन राष्ट्रिय हितमा हुनुपर्नेमा त्यसो हुन नसकेको बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले आफैँले अपेक्षा गरेभन्दा भ्रमण राम्रो भएको दाबी गरेपनि देशको आवश्यकता र सम्भावनाको कसीमा कति परिणाममुखी रह्यो भन्ने कुरा प्रमुख हुने भट्टराईको दाबी छ।
डा। भट्टराईले भने, ‘नेपाल यतिवेला आन्तरिक रूपमा तीब्र संरचनात्मक आर्थिक संकट र बाह्य रूपमा इतिहासमै कमजोर अन्तर्राष्ट्रिय हैसियतको अवस्थामा छ। यस्तो बेला दूरदर्शी नेतृत्वले संकटलाई अवसरमा बदल्ने प्रयत्न गर्ने हो, न कि सतही अतिथि सत्कार र आफ्नै आसेपासेहरूको प्रशंसामा रमाएर बस्ने१’ उनले कमसेकम परम्परागत हिमाली पर्खाललाई छेडेर दुइ देशको अर्थतन्त्रलाई जोड्ने आधुनिक यातायातरपारबहन पूर्वाधार छिटो निर्माण गर्न प्रधानमन्त्रीले प्राथमिकता दिनुपर्ने बताएका थिए ।
अझ उनले अगाडी बढेर लेखेका छन्,– ‘सबैले लेखेर राखौं,सयौं बर्षदेखि अविकास/अल्पविकासको दुष्चक्रमा फस्दै आएको नेपालको तीब्र गतिको आर्थिक रूपान्तरण (दुइ अंकको आर्थिक वृद्धिदर,दुइ दशक निरन्तर”)को लक्ष्य दुइ ठूला छिमेकी अर्थतन्त्रको मूल्यशृंखलासंग तालमेल मिलाएर अघि नबढी सम्भवै छैन ! इतिहासले मलाई गलत साबित गरेमा खुशी हुनेछु !’