इजरायल कृर्षि पढ्न गएका ७ जना नेपाली विधार्थी घाइते, अन्य १७ जना घेराबन्दीमा
काठमाडौँ । प्यालेस्टिनी विद्रोही समूह हमासको रकेट आक्रमणमा परी ७ जना नेपाली कृषि विद्यार्थी घाइते भएका छन् । दक्षिणी इजरायलको अलुमिन किबुजमा कृषि फार्ममा कार्यरत नेपाली विद्यार्थी हमासको आक्रमणमा घाइते भएको इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले पुष्टि गरिन् । उनीहरू लर्न एन्ड अर्नु कार्यक्रमअन्तर्गत कृषि फार्ममा काम गर्न इजरायल पुगेका थिए । रिजालले सोही कृषि फार्मको आवासमा रहेका घाइते ७ सहित १७ जना विद्यार्थीहरू आक्रमणकारीको घेरामा रहेको बताइन् ।
नेपालीहरूको अवस्थाबारे इजरायली परराष्ट्र मन्त्रालय र उद्धार टोलीलाई खबर गरिसकेका छौँ । आक्रमण जारी रहेकाले विद्यार्थीहरूलाई सतर्क रहन आग्रह गरेका छौँ । विद्यार्थीहरूसँग नियमित सम्पर्क भइराखेको छ, उनले भनिन् । विद्रोहीले उनीहरू रहेको क्षेत्रलाई आफ्नो कब्जामा लिएका कारण उद्धार गर्न कठिन भइरहेको समेत उनले बताइन् । १७ जना कृषि फार्मको आवासभित्र छन् । उनीहरू बसेको घरबाहिर हतियारधारी हमासको समूहले घेरा हालेर राखेको छ, राजदूत रिजालले भनिन् ।
आफूहरू पनि कर्फ्यु लागेका कारण निवासबाट बाहिर निस्किन सक्ने अवस्था नरहेको उनले बताइन् । शनिबार बिहानैदेखि प्यालेस्टिनी विद्रोही समूह हमासले गाजाबाट इजरायली भूमिमा रकेट आक्रमण गरेपछि इजरायली सेनाले जवाफी आक्रमण सुरु गरेको हो । हमासको आक्रमणमा इजरायलतर्फ केही हताहतीसमेत भएको खबर सार्वजनिक भएका छन् । टाइम्स अफ इजरायलले हमासको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको जनाएको छ । सयौँ घाइतेमध्ये ७० जनाको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ ।