अवैधानिक निर्णयको वातावरण आउन नदिन सभामुख घिमिरेको आह्वान
काठमाडौँ । सभामुख देवराज घिमिरेले राज्यका निकायबाट हुन सक्ने अवैधानिक निर्णयको वातावरण आउनै नदिनका लागि भूमिका खेल्न पत्रकारलाई आह्वान गरेका छन् । नुवाकोट–काठमाडौँ पत्रकार समाजले आज काठमाडौंमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम’मा उनले सञ्चारकर्मीले सहीलाई सही र गलतलाई गलत नै भन्नुपर्ने बताए । पत्रकारले दूरदराजका जनतालाई पनि चेतनशील बनाउनुपर्ने र चाडबाड राम्रोसँग मनाउन विपन्न जनतालाई परेको कठिनाइ उजागर गर्नुपर्नेमा बताउँदै उनले भने, “पत्रकारले आफ्ना कलमबाट जनप्रतिनिधिलाई पनि सजग गराउनुपर्छ, राष्ट्रको आवश्यकता, गन्तव्य र संविधानको उद्देश्य के हो भन्नेबारे सुसूचित गर्न भूमिका निर्वाह गर्नुपर्छ ।”
सङ्घीय संसद्को तल्लो जनप्रतिनिधिमूलक अङ्ग प्रतिनिधिसभाका सभामुख घिमिरेले आमसञ्चारलाई प्रभावकारी बनाउनका लागि त्यस क्षेत्रमा योजना र बजेट दिन सरकारलाई सुझाव दिए । उनले नुवाकोट सुन्दर र राजधानी नजिक भइकन पनि सुविधा नपाएर पिछडिएको जनाउँदै नुवाकोट र रसुवाका गोसाइँकुण्डजस्ता ऐतिहासिक, धार्मिक, सांस्कृतिक पर्यटकीयस्थलको प्रचारप्रसार गरी जिल्लालाई भौतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपले वैभवशाली, आकर्षक एवं सद्भावपूर्ण बनाउन जिल्लाका पत्रकारलाई आग्रह गरे ।
सो अवसरमा सांसद अर्जुननरसिंह केसीले मुलुकमा आर्थिक, सामाजिक, धार्मिक द्वन्द्व हुन नदिन र मुलुकका सबै पर्व नेपालीको पर्व हो भन्ने भावना बढाएर राष्ट्रिय एकता मजबुत पार्नका लागि योगदान दिन पत्रकारलाई आग्रह गरे । प्रतिनिधिसभामा नुवाकोटबाट प्रतिनिधित्व गर्ने पूर्वमन्त्री केसीले नुवाकोटबाट राजधानी आई पत्रकारिता गर्ने पत्रकारहरूको संस्था समाजले स्थापना गर्ने अक्षय कोषका लागि आफ्नो एक महिनाको तलब प्रदान गर्ने घोषणा पनि गरे । कार्यक्रममा पूर्वसङ्घीय सांसद जगदीश्वरनरसिंह केसी, बागमती प्रदेशका पूर्वमन्त्री केशवराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा प्रद्युम्न महत, राष्ट्रिय परीक्षा बोर्डका सहसचिव जङ्गबहादुर अर्याल लगायतले पनि बोलेका थिए ।