सूर्य दर्शन सहकारीका कोषाध्यक्ष रम्तेल पुर्पक्षका लागि थुनामा
पोखरा । पोखराको सूर्य दर्शन सहकारीको ठगी मुद्दामा पक्राउ परेका कुमार रम्तेललाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ । जिल्ला न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले सहकारीका कोषाध्यक्ष रम्तेललाई थुनामा राख्न आदेश दिएको हो । गीतेन्द्र (जीबी) राईको समूहले खालेको सूर्य दर्शन सहकारीले बचतकर्ताको रकम हिमामिना गरेको भन्दै जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले गत भदौ २४ गते पक्राउ पूर्जी जारी गरेको थियो । त्यसको भोलिपल्टै कोषाध्यक्ष रम्तेल पक्राउ परेका थिए । पक्राउ पूर्जी जारी भएका जीबी राई, शिवबहादुर गुरुङ, (महेन्द्र भोटे)सहित १८ जना फरार छन् ।
लामो अनुसन्धानपछि १६ असोजमा प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको फाइल अनुरुप सरकारी वकिलले असोज १९ गते जिल्ला अदालतमा मुद्धा दर्ता गराएको थियो । जिल्ला अदालतले आइतबार बचतकर्ताले जम्मा गरेको रकम फिर्ता नसकी सहकारी बन्द भएको स्वीकार गरेको, जाहेरी, घटना विवरण र नियामक निकायको विश्लेषणात्मक प्रतिवेदलाईसमेत आधार मानी पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । मुद्दामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरीवालाई दिलाउन माग गरिएको छ ।
मुद्दाको पक्षमा जिल्ला न्यायाधिवक्ता गोपालप्रसाद ढकाल, जाहेरीवालाको पक्षमा अभिवक्ता युवराज पराजुली, नारायणप्रसाद शर्मा र विष्णुप्रसाद अधिकारीले बहस गरेका थिए भने पक्राउ परेका रम्तेलका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापा र अधिवक्ता ईश्वर चिलुवालले बहस गरेका थिए । सहकारी ऐन, २०७४ को दफा १२२ बमोजिम सहकारी ठगी मुद्दामा १९ जनालाई प्रतिवादी बनाइएको छ । सहकारी ऐनको दफा १२२ (घ), (ङ), (च), (छ), (ज) र (त) अनुसारको कसूरमा दफा १२४ (घ) र घ (६) अनुसार बिगो बमोजिम जरिवाना र ८ देखि वर्ष कैद सजायको माग गरिएको छ ।