थुनामुक्त हुन माग गर्दै दर्ता गरिएको निवेदन न्यायाधीशद्वय गोकर्ण डाँगी र नारायणप्रसाद रेग्मीको इजलासमा
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामुक्त माग गदै उच्च अदालत पुगेकाहरुको निवेदन न्यायाधीशद्वय गोकर्ण डाँगी र नारायणप्रसाद रेग्मीको इजलासमा परेको छ । उच्च अदालतमा पाटनमा दर्ता गरिएको निवेदन बिहीबार सुनुवाइका लागि पेशी तोकिएको हो ।पूर्व गृहमन्त्री बालकृष्ण खाँण, टोपबहादुर रायमाझीलगायतले गत साउन १२ गते काठमाडौं जिल्ला अदालतले गरेको फैसलाउपर पूनरावेदन दिएका हुन् । उनीहरुले आफुहरुलाई थुनामुक्त गरी निवेदनको निरुपण गर्न माग सहित उच्च अदालतमा निवेदन दर्ता गरेका थिए । यसरी दर्ता गराएको रिट यसअघि ४ पटक पेशीमा चढिसकेको छ ।
पहिलो पेशीमा कैफियत प्रतिवेदन माग गर्ने आदेश भएपछि दोस्रो पेशी निवेदकका कानुन व्यवसायीले स्थगित गराएका थिए । असोज ४ गतेको पेशी हेर्न नभ्याइनेमा परेको थियो भने असोज १८ गतेको पेशीमा न्यायाधीश दीपेन्द्र अधिकारीले हेर्दाहेर्दैमा राख्नुपर्ने भएकाले आफूले नसक्ने भनी अन्य आदेश गरेर पन्छिएका थिए ।
खाण र रायमाझीसहित नरेन्द्र केसी, टेकनारायाण पाण्डे, सानु भण्डारी, आङटावा शेर्पा, डा। ईन्द्रजीत राई, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शम्शेर मियाँ, गोविन्द चौधरी, आशिष बुढाथोकी, सन्दीप रायमाझी, टेकनाथ रिजाल, केशवप्रसाद दुलाल, टंककुमार गुरुङ, सागर राई र रामशरण केसीले जिल्ला अदालतले गरेको थुनामा पठाउने आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका थिए । उनीहरूमाथि ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको मुद्दा रहेको छ ।