बारामा प्रिन्सिपल सर्राफको हत्यामा संलग्न ५ जना सार्वजनिक
बारा । कलैयास्थित बाल एकता बोडिङ्ग स्कुलका प्रिन्सिपल रुपेश सर्राफको हत्यामा आठ जना व्यक्ति प्रत्यक्ष संलग्न रहेको प्रहरीले बताएको छ । तीमध्य पाँच जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । कलैया भरतचोक नजिकै सोमबार दिउँसो भएको सर्राफको हत्यामा संलग्न ५ जनालाई बुधबार बारा प्रहरीले सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरूमा कलैया उपमहानगर पालिका २ बस्ने राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंहलाई बारा प्रहरी प्रमुख उपरीक्षक सुरेश काफ्लेले पत्रकार सम्मेलनमा सार्वजनिक गरेका हुन् । मुख्य अभियुक्त एवम् योजनाकार मनोज गुप्ता भारतमा फरार रहेको काफ्लेले बताए । काफलेले सर्राफ हत्या प्रकरण रिसइवीका कारण हुन पुगेको अनुसन्धानमा खुलेको जानकारी दिए ।
सर्राफलाई गोली हान्ने व्यक्ति पेशेबर सुटर रहेको पनि प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा प्रत्यक्ष संलग्नता ८ जनाको भएपनि पाँच जना मानिस अनुसन्धानको दायरामा आएको र थप मानिसहरुसँग पनि सोधपुछको कार्य भइरहेको जनाएको छ । ‘घटनामा ८ जना व्यक्ति प्रत्यक्ष संलग्न भएको देखिएको छ । त्यसमध्येका पाँच जना पक्राउ परेका छन् । बाँकीको खोजतलास भइरहेको छ’, उपरीक्षक काफ्लेले भने, ‘घटना महिलासँगको सम्बन्धको रिसइवीमा भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।’