युवा संघको प्रदर्शनको स्वामित्व एमालेले लियो
काठमाडौं । नेकपा एमालेले पार्टीको युवा संगठन राष्टिय युवा संघले गर्ने भनेको मंसिर ७ गतेको प्रर्दशनको स्वामित्व पार्टीले लिएको छ । अब उक्त दिनको कार्यक्रम एमालेकै नाममा हुनेछ । त्यसका लागि पार्टीका सबै शक्ति केन्द्रीत गर्ने निर्णय समेत गरेको छ । राजधानी काठमाडौंमा युवा संघले मंसिर ७ गते वृहत जनप्रदर्शन गर्ने यस अगाडी देखि तयारी गरेको थियो । शनिवार केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसहितका नेता सहभागी विशेष भेलाले मंसिर ७ को प्रदर्शनको स्वामित्व पार्टीले लिने निर्णय लिएको हो ।
जन संगठन समन्वय संयन्त्रले आयोजना गरेको २३ वटै संगठनका पदाधिकारी र सम्पर्क समन्वय समिति लगायतका सदस्यको विशेष भेलाले सबै शक्ति मंसिर ७ को प्रदर्शनमा केन्द्रित गर्ने निर्णय लिएको हो । भेलाको शुरुआत गर्दै संयन्त्रका इन्चार्ज भानुभक्त ढकालले मंसिर ७ को प्रदर्शन राजनीतिक मिसनमा आधारित रहेको भन्दै कतिपयले व्यक्तिको लडाइसँग जोडेकोमा आपत्ति जनाए । उनले यो पार्टीकै कार्यक्रम भएकाले सबै शक्ति लगाइने बताए ।
यहि सन्देश दिन अध्यक्ष र महासचिवसहितको विशेष बैठक राखिएका संयन्त्रकी उपप्रमुख रचना खड्काले बताइन् । मुलुकमा व्याप्त बेथिती,भ्रष्टाचार र सत्ताको ज्यादतिविरुद्ध एमालेको विरोध प्रदर्शन रहेको उनले बताइन् । भेला जाजरकोट भुकम्प प्रभावितको लागि स्वंसेवी अभियान,मध्यपहाडी यात्रा र मंसिर ७ को प्रदर्शनका लागि छलफल गर्न आयोजना भएको उनको भनाइ थियो ।