दोलखामा बन्दुकको छर्राले लागेर एक जनाको मृत्यु, ६ जना पक्राउ
दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–२ झुलेमा गएराति शिकार खेल्न गएका एक युवकको भरुवा बन्दुकको छर्राले लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानका २० वर्षीय सञ्जिव सार्की छन् । देब्रे छातीमा छर्राले लागेर गम्भीर घाइते भएका सञ्जिवको तामाकोशी सामुदायिक अस्पतालमा प्राथमिक उपचार गरिएको थियो। थप उपचारका लागि राति नै उनलाई चरिकोटस्थित पशुपति चौंलागाई स्मृति अस्पताल लगिएको थियो । अस्पताल भर्ना लगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेको दोलखा प्रहरीले जनाएको छ ।
सञ्जिवको मृत्यु भएपछि उनीसँगै सिकार गएका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तामाकोशी गाउँपालिका–३ का १६ वर्षीय कृष्ण नेपाली, सोही ठाउँका १८ वर्षीय रचेस मुग्राती, १५ वर्षीय सुमन तोलांगी, २२ वर्षीय माधव पोख्रेल, ४२ वर्षीय सञ्जिव पोख्रेल र तामाकोशी गाउँपालिका–२ झुलेका २५ वर्षीय अविदित कार्की छन् । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।