न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश
त्रिशूली । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका अहिले आफ्नो लयमा अघि बढेको बताएका छन् । नुवाकोट जिल्ला अदालतको आज नयाँ भवन उद्घाटन गदैं प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकाबाट प्रवाह हुने सेवालाई समयसापेक्ष अनुरुपको परिर्वतन र आधुनिक प्रविधिको उपयोगमार्फत सेवा प्रवाहलाई तदारुकता दिइएको बताए । “आफू प्रधानन्यायाधीश भएको तीन महिनामा अदालतको आन्तरिक र बाह्य कार्य वातावरण अनुकूल बनेको छ”, उनले भने, “न्यायिक सुधारप्रति सबैको स्वामित्व र प्रतिबद्धता देखिएको छ ।”
नयाँ दर्ताको तुलनामा मुद्दाको फछ्र्यौट धेरै हुनु, दुई वर्ष नाघेका मुद्दा शून्यमा ल्याउने प्रयास जारी रहनु, सर्वोच्च अदालतमा पेशी तोक्ने कार्यलाई स्वचालित बनाउनुलाई न्यायलयमा सुधारका रूपमा लिन सकिने प्रधानन्यायाधीश श्रेष्ठको भनाइ छ । “न्यायालयमा रिक्त न्यायाधीशको पदपूर्ति, ‘भिडियो कन्फरेन्सिङ’मार्फत बहस तथा पैरवीको सेवा हाल छवटा न्यायालयमा रहेकाले त्यसको विस्तार भइरहेको छ”, उनले भने । श्रेष्ठले काठमाडौँ जिल्ला अदालतमा सुरु भएको ‘पारिवारिक इजलास गठन’ सहितको सेवालाई थप अन्य न्यायालयमा विस्तार, अदालत प्रवेशमा ‘पास’को व्यवस्था, उच्च अदालतमा पेसी तोक्ने कार्यलाई छिट्टै स्वचालित बनाउने तयारीलगायतलाई न्यायालयमा आगामी दिनमा थप सुधारको सङ्केत रहेको उल्लेख गरे ।