माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ । हिजो (बुधबार)का लागि बोलाइएको बैठक आज बस्न लागेको हो । पार्टीका कोषाध्यक्ष तथा केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालका अनुसार बैठक बिहान ८ बजे बालुवाटारमा बस्नेछ । यद्यपि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले भने उपलब्ध पदाधिकारीहरूसँग अनौपचारिक छलफल गर्न लागेको बताइएको छ ।
पदाधिकारीको बैठक मंगलबार पनि बसेको थियो। मंगलबारको बैठकमा प्रदेश इन्जार्चहरूले रिपोर्टिङ प्रस्तुत गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार बुधबार बस्ने बैठकले विधान सम्मेलन र केन्द्रीय कमिटीको बैठक तय गर्ने तयारी गरिएको थियो। बैठकमा प्रदेश इन्चार्जहरुले पार्टीको जारी रुपान्तरण अभियानबारे ब्रिफिङ गरेका थिए । अबको बैठकबाट केन्द्रीय समिति बैठक र विधान सम्मेलनको मिति तोक्ने तयारी छ ।



















