बालकुमारी घटनामा खटिएका डिएसपी र मन्त्री ज्वालाका पिएसओ निलम्बित
काठमाडौँ । सरकारले शुक्रबार भएको बालकुमारी घटनामा सातदोबाटोका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश जोशी र मन्त्री प्रकाश ज्वालाका पिएसओ प्रहरी नायब निरीक्षक (सई) बोधराज दनुवार निलम्बन गर्ने निर्णय गरेको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित बसेको सुरक्षा अधिकारीहरूको बैठकमा उनीहरुलाई निलम्बन गर्ने निष्कर्षमा पुगेका हुन् ।
शुक्रबार भएको सो घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने ब २ झ ५८६१ नम्बरको गाडी ललितपुरको बालकुमारीमा आगजनीबाट ध्वस्त भएको थियो । कोरियन भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित युवाहरुले मन्त्रीको गाडीमा आगजनी गरेपछि सो क्षेत्रमा तनाव भएको थियो । सो घटनामा दुई युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत र २२ वर्षीय वीरेन्द्र शाह रहेका छन् । प्रदर्शनका क्रममा घाइते भएका राउतको किष्ट अस्पतालमा र शाहको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।