‘साम्प्रदायिक हिंसा’ भड्काउन खोजेको आरोपमा भ्लगर उमा चाम्लिङ सिक्किममा पक्राउ
काठमाडौं । भिडिओ पोस्टमार्फत साम्प्रदायिक अशान्ति भड्काउने प्रयास गरेको आरोपमा नेपाली भ्लगर उमा चाम्लिङ राई पक्राउ परेकी छन् । राईलाई शनिबार भारतको सिक्किममा सदर प्रहरी स्टेसन गान्तोकले पक्राउ गरेको हो । उनलाई अदालतमा पेश गरी थप अनुसन्धानका लागि पाँच दिन प्रहरी हिरासतमा राख्न अनुमति लिइएको छ । समाजिक सञ्जालका लागि कन्टेन्ट क्रियटरका रुपमा परिचित राईले पुस १० मा वनझाँक्री बस्ने गुफा र पुस ११ मा चारधाम सिक्किम घुमफिरबारे भिडिओ सामग्री पोस्ट गरेकी थिइन् । त्यसअघि पुस ८ मा सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङसँग खिचाएको तस्वीर पोस्ट गरेकी थिइन् ।
उनले सिक्किममा साकेला मनाउन भिडिओमार्फत आह्वान गरेकी थिइन् । त्यसैलाई आधार बनाएर पक्राउ गरिएको जनाएको छ । सिक्किम क्रान्तिकारी मोर्चाले विज्ञाप्ति जारी गर्दै पूर्व मुख्यमन्त्री चाम्लिङको आडमा लेगसेपमा पुस १४ गते साकेला मनाउन भिडिओ निमन्त्रणा दिएको, राजनीति प्रेरित भएर सर्वसधारणलाई ध्रुवीकरण गर्न खोजेको आरोप लगाएको छ ।