कान्तिपुरविरुद्ध रवि लामिछानेले हाले मुद्दा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेसनविरुद्ध गाली बेइज्जतीको मुद्दा हालेका छन् । मंगलबार लामिछानेले कान्तिपुरविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेका हुन् । उनले आफ्नो चरित्र हत्या गर्ने समाचार लेखेको भन्दै अदालत गएका हुन् । सामाजिक सञ्जालमा मुद्दा दर्तापछि फोटो सार्वजनिक गर्दै उनले लेखेका छन् ‘एउटा योद्धा लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन । हार जीतको पर्बाह नगरी उ इमानका साथ लडिरहन्छ । म आरोप लाग्नै नहुने मान्छे होइन। तर म समाचारमा आएका कुनै सहकारीको सञ्चालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि होइन ।’
‘मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन । मेरो नाम राखिएरदेखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु । म लोकतन्त्रको बलियो आधारमध्ये एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु । सहकारी पीडितहरूको पीडामा सदनमा भएका मध्ये सबैभन्दा दरिलो उभिन सकिनँ भने यो अनुहार लिएर भोट माग्न आउँदिनँ । यो मेरो वचन भो । मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको छु ।’