खैरहनीमा ४ सय ८३ जनाको पाठेघरको मुखको र स्तन क्यान्सर परिक्षण,५ जनामा क्यान्सरको आशंका
चितवन , १९ पुष । खैरहनी नगरपालिकामा ४ सय ८३ जना महिलाहरुको स्वास्थ्य परिक्षण गरिएको छ । खैरहनीको विभिन्न ४ स्थानमा संचालन भएको शिविरमा ४ सय ८३ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सर , स्तन क्यान्सर , आङ्ग खस्ने समस्या लगातय प्रजनन स्वास्थ्य सम्बन्धि परिक्षण गरिएको हो । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा ४ दिन सम्म खैरहनीमा भएको निशुल्क स्वास्थ्य शिविरमा परिक्षण गरेकामध्य ३ जनामा पाठेघरको मुखको क्यान्सर शंकास्पद देखिएको र २ जनामा स्तन क्यान्सर शंकास्पद रहेको भेटिएको खैरहनी नगरपालिकाकी अस्पताल नर्सिङ निरिक्षक तथा स्वास्थ्य शिविरको फोकल पर्सन विनिता पौडेलले जानकारी दिइन् ।
शंकास्पद क्यान्सर देखिएकाहरुलाई थप परिक्षणको लागि विपी कोइराला क्यान्सर अस्पताल रिफर गरिएको पौडेलले बताइन् । त्यस्तै शिविरमा २ जनामा आङ्ग खस्ने देखिएको र उनीहरुमा रिङ पेसरी राखेर समस्या व्यवस्थापन गरिएको छ । परिक्षणको क्रममा पछि गएर पाठेघरको मुखको क्यान्सर हुन सक्ने भाइरस देखिएको ( भिआए परिक्षण पोजेटिभ ) ४ जनामध्य १ जनालाई थर्मोकोअगुलेसन प्रविधिबाट सेक्ने काम भएको उनले बताइन् । खैरहनी नगरपालिकाले चैनपुर स्वास्थ्य चौकी , कठार स्वास्थ्य चौकी , कुमरोज स्वास्थ्य चौकी र खैरहनी ९ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा शिविर संचालन गरेको थियो ।