बरहथवामा कर्फ्यू हट्यो, भोलिसम्म निषेधाज्ञा
काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको छ । बरहथवा नगरपालिकाको अस्पताल स्तरोन्नतिको विषयलाई लिएर शुक्रबार भएको झडपमा एक जनाको मृत्यु भएपछि प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले आज बिहान ८ बजे सम्मका लागि नगरक्षेत्रको चार किल्ला तोकेर कर्फ्यु जारी गरेका थिए । आज बिहान एक सूचना जारी गर्दै प्रशासनले आइतबार बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । सम्भावित जोखिम नटरेको उल्लेख गर्दै प्रशासनले सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको जनाएको हो ।
यस अवधिमा सो क्षेत्रमा कुनैपनि किसिमका भेला, बाहिर हिँडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न रोक लगाइएको प्रशासनले जनाएको छ । शुक्रबार दिउँसो नगर अस्पतालको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा प्रहरीले गोली नै चलाएको थियो। गोली लागेर बरहथवा–६ का जयशंकर साह मृत्यु भएको थियो।मृतक साहको शव अहिले पनि घटनास्थलमै छ । प्रजिअ धमलाले भने प्रहरीलाई गोली चलाउने आदेश नभएको दाबी गर्दै आएका छन् । यसबारेमा अहिले छलफल भएको र घटनाको छानबिनका लागि समिति बनाउने तयारी भइरहेको उनले बताए ।