बरहथवामा गोली लागेर मृत्यु भएका जयशंकरको शव अझै घटनास्थलमै
जनकपुरधाम । सर्लाहीको बरहथवामा गोली लागेर मृत्यु भएका जयशंकर साहको शव अझै पनि घटनास्थलबाट उठाईएको छैन् । आन्दोलनकारी र प्रशासनबीच सहमति हुन नसक्दा शव घटनास्थलमै रहेको हो । बरहथवा–६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिका विषयमा भएको प्रदर्शन नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर स्थानीय जयशंकरको मृत्यु भएको थियो । मृतक परिवार तथा आन्दोलनकारीले मृतकलाई शहीद घोषणा, मृतकको नामबाट प्राथमिक स्वास्थ्य केन्द्र बरहथवाको नामकरण र स्तरोन्नती तथा बरहथवाका मेयरको राजीनामा लगायतका माग राखे पछि शव व्यवस्थापनका विषयमा शनिबार इलाका प्रहरी कार्यालय बरहथवामा पीडित र प्रहरी प्रशासनका प्रतिनिधिबीचको छलफल विना निष्कर्ष सकिएको थियो ।
पीडित पक्षका मागका विषयमा सहमति नजिक पुगेकाले आज बिहानको छलफल पछि शव व्यवस्थापन हुन सक्ने जिल्ला प्रही कार्यालय सर्लाहीका प्रमुख (एसपी) प्रविण धितालले बताए । शनिबार नै गृहमन्त्रालयले घटना छानविनका लागि मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो भने मृतक परिवारलाई १० लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको थियो ।
जयशंकर साहको मृत्युपछि स्थानीय प्रशासनले शनिबार बिहान ८ बजेसम्मका लागि बरहथवा क्षेत्रमा कर्फ्यु लगाएको थियो । शनिबार बिहान आठ बजेपछि कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञाको समय पनि आज बिहान आठ बजेदेखि सकिएको छ ।