पोखरामा राससको अभिमुखीकरण कार्यक्रम आजदेखि सुरु
गण्डकी । राष्ट्रिय समाचार समिति (रासस) को आयोजनामा गण्डकी प्रदेशमा कार्यरत राससका समाचारदाताका लागि अभिमुखीकरण कार्यक्रम आजदेखि पोखरामा सुरु भएको छ । रासस गण्डकी प्रदेश कार्यालयको संयोजन र गण्डकी प्रदेश सरकारको सहयोगमा आयोजित अभिमुखीकरण कार्यक्रमको प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले शुभारम्भ गरे । सो अवसरमा मन्त्री जुग्जालीले नागरिकमा आशा र सकारात्मक सोचको अभिवृद्धि हुने किसिमका समाचार प्रवाह गर्नुपर्ने धारणा राखे । सङ्घीयतालगायत मुलुकले हासिल गरेका परिवर्तनका मुद्दाप्रति जनआस्था बढाउने गरी पत्रकारिता क्षेत्रले भूमिका खेल्नुपर्ने उनले बताए ।
“अहिले सबैतिर निराशा मात्रै बाँड्ने प्रवृत्ति बढ्दो छ, यो देशमा केही हुँदैन भन्ने भाष्य निर्माण गरिएको छ”, मन्त्री जुग्जालीले भने, “पत्रकारलगायत हामी सबैले त्यस किसिमको नकारात्मक प्रवृत्तिको सामूहिक प्रतिवाद गर्नु जरुरी छ ।” राससले आफ्नो सेवामा विविधिकरणसँगै कर्मचारी र समाचारदाताको दक्षता अभिवृद्धिका लागि जोड दिन मन्त्री जुग्जालीले सुझाव दिए । राज्यद्वारा सञ्चालित समाचार समिति भए पनि राससले सरकारका राम्रा÷नराम्रा कामलाई औँल्याउनुपर्ने उनको भनाइ थियो । राससको भौतिक संरचना निर्माण र सेवाको स्तरीकरणका लागि प्रदेश सरकार रासससँग सहकार्य गर्न तयार रहेको मन्त्री जुग्जालीले उल्लेख गरे ।
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससको सेवालाई विविधिकरण गरी अन्तर्राष्ट्रियस्तरको समाचार समिति बनाइने बताए । उनले निकट भविष्यमा राससको सेवालाई चौबिसै घण्टा विस्तार गर्ने योजना रहेको सुनाए । “पछिल्लो समय श्रव्यदृश्य सेवा, विचार सेवा र मातृभाषामा समाचार सेवा गुरु गरिएका छन्, यी सेवाप्रति राम्रो प्रतिक्रिया आइरहेको छ”, उनले भने, “सेवा विस्तारसँगै जनशक्तिलाई पनि प्रशिक्षित गरिरहेका छौँ, अभिमुखीकरण कार्यक्रम सबै प्रदेशमा सञ्चालन हुँदैछ ।”अध्यक्ष झाले प्रदेश सरकार र स्थानीय सरकारसँगको सहकार्यमा राससको सेवालाई विविधिकरण र स्तरीकरणको काम अगाडि बढाइएको बताए । सरकारले अनुदान सहयोग बढाएमा देशभरका सञ्चारमाध्यमलाई निःशुल्क समाचार वितरण गर्न रासस तयार रहेको उनले बताए ।
लोकतन्त्रलाई बलियो बनाउन सूचनामा आम नागरिकको पहुँच हुनुपर्ने उनले उल्लेख गरे ।राससका महाप्रबन्धक सिद्धराज राईले राससका समाचारदातालाई दक्ष र प्रतिस्पर्धी बनाउन अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको बताए । गण्डकीसँगै लुम्बिनी र मधेश प्रदेशमा समाचारदाता क्षमता विकासको कार्यक्रम सम्पन्न भइसकेको उल्लेख गर्दै उनले छिट्टै सुदूरपश्चिम र बागमती प्रदेशमा सो कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।राससका प्रधानसम्पादक एकराज पाठकले राससको समाचार सेवालाई विविधिकरण गर्दै लगिएको बताए । उनले राससका सामग्री देशका अधिकांश सञ्चारमाध्यमले प्रयोग गरे पनि स्रोत उल्लेख नगर्ने प्रवृत्ति बढिरहेको बताए ।रासस सञ्चालक समितिका पूर्व सदस्य गङ्गाधर पराजुलीले राससले पहिलो पटक मातृभाषाको समाचार दिन सुरु गर्नु ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे ।
सूचना–प्रविधिमा आएको परिवर्तनले पत्रकारसामु नयाँ चुनौती थपिएको उल्लेख गर्दै उनले पत्रकारले समयसापेक्ष रुपमा आफ्नो क्षमता विकास गर्नुपर्ने बताए । पराजुलीले रासस राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा छवि कायम गरेको समाचार समिति रहेको बताए ।नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले राससलाई स्वतन्त्र र व्यावसायिक सञ्चार संस्थाका रुपमा विकास गर्नुपर्ने बताए । उनले सामाजिक सुरक्षा कार्यक्रममा जोड्न सके पत्रकारको भविष्य सुरक्षित रहने उल्लेख गरे । रासस धेरै सञ्चारमाध्यमको समाचार स्रोत रहेको सुवेदीले बताए ।
नेपाल पत्रकार महासङ्घ कास्की शाखाका अध्यक्ष बिमला भण्डारीले राससको विश्वसनीयता कायमै रहोस् भनि शुभेच्छा प्रकट गरे ।बुधबारसम्म चल्ने अभिमुखीकरण कार्यक्रममा राससका अध्यक्ष झा, महाप्रबन्धक राई, प्रधानसम्पादक पाठक, गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रेस संयोजक नरहरि सापकोटालगायतले सहजीकरण गर्ने रासस गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेलले जानकारी दिए । अभिमुखीकरण कार्यक्रममा गण्डकी प्रदेशका ११ वटै जिल्लाका रासस समाचारदाताको सहभागिता रहेको छ ।