बलात्कार मुद्दामा दोषी ठहरिएका सन्दीपलाई आज जेल सजाय तोकिने
काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिने भएको छ । पुस १३ गते अदालतबाट दोषी ठहर गरिएका लामिछानेलाई सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको छ । फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको व्यवस्थाका आधारमा सजाय तोक्नका लागि त्यतिबेलै आजको लागि पेसी तोकिएको थियो।
अदालतले पीडित किशोरी गौशाला २६ को उमेर घटना हुँदा १८ वर्ष पूरा भइसकेको पनि ठहर गरेको छ । तर, पीडित बालिग भए पनि जबरजस्ती करणी भएको जनाउँदै अदालतले लामिछानेलाई दोषी ठहर गरेको हो । त्यसको आधारमा लामिछानेलाई ७ देखि १० वर्षसम्मको कैद हुन सक्ने देखिएको छ। मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा ३ (ङ) मा १८ वर्ष वा त्यसभन्दा बढी उमेरकी महिला पीडित भए ७ देखि १० वर्षसम्म कैद हुन व्यवस्था छ ।
गौशाला २६ नाम दिइएकी ती किशोरीलाई काठमाडौँको सिनामंगलस्थित एक होटलमा लगेर बलात्कार गरेको अभियोग लामिछानेलाई लागेको थियो । सन्दीपविरुद्ध आफूलाई नाबालिग बताउँदै गौशाला २६ ले जबरजस्ती करणीको आरोप लगाएकी थिइन् । २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा बलात्कारको आरोप लगाउँदै ती गौशाला २६ ले जाहेरी दिएकी थिइन् । त्यसपछि नेपाली क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दर्ता भएको थियो ।