बम्जनलाई आजै सर्लाही अदालतमा उपस्थित गराउने तयारी
काठमाडौं । अनुयायी बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाहीमा हाजिर गराउने तयारी गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पूर्जी जारी भएकाले पहिले त्यहाँ हाजिर गराउन पक्राउ परेका बम्जनलाई आजै जिल्ला प्रहरी कार्यालय सर्लाही पठाउने तयारी भइरहेको जनाएको छ । ब्यूरोले मंगलबार साँझ बम्जनलाई बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो ।
बम्जनविरुद्ध सर्लाहीकी २९ वर्षीया रिता बोटलाई बेपत्ता पारेको भन्दै उनकी आमा सुम्नीले २०७५ सालको १८ पुसमा किटानी जोहरी दिएकी थिइन् । जोहरीमा उल्लेख भएअनुसार रिता बाराको हलखोरियास्थित बम्जनको आश्रममा बसेकी थिइन् । पछि २०६६ सालमा गढीमाई मेलामा गएपछि उनी बेपत्ता थिइन् । उनीमाथि २०७३ मा आश्रममा आएका तीन युवतीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कारपछि बेपत्ता पारेको आरोप छ ।