मेलम्चीको पानी काठमाडौंमा, प्रधानमन्त्रीद्वारा पुनः वितरणको उद्घाटन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँमा मेलम्चीको पानी पुनः वितरण कार्यको शुभारम्भ गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार बिहान सिंहदरबारस्थित सार्वजनिक धारा खोलेर उनले मेलम्चीको पानी पुन : वितरण कार्यको शुभारम्भ गरेका हुन् । कार्यक्रममा खानेपानीमन्त्री महेन्द्र राय यादव, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, मन्त्रालयका सचिवहरु लगायतको उपस्थिति थियो । गएको वर्षातको समयमा सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध भएको मेलम्ची खानेपानी आयोजनाको पानी आजबाट पुनः काठमाडौँमा विवतरण सुरु भएको हो ।
खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यका अनुसार अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा अब क्रमिकरूपमा पानी वितरण गरिने छ । अब मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ आउने मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक जक्की अहमद अन्सारीले जानकारी दिए।