उपराष्ट्रपति यादव र भारतीय राजदूतबीच भेटवार्ता
काठमाडौँ । भारतका राजदूत नवीन श्रीवास्तवले उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटघाट गरेका छन् । भेटघाटका क्रममा परस्पर शुभकामना आदान–प्रदानपछि दुई मुलुकको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग, नेपालको विकास प्राथमिकताहरु, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरू लगायत विविध विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जानकारी दिएको हो । भेटमा उपराष्ट्रपति यादवले नेपाल र भारतबिच सौहार्द्रता, मित्रता, सद्भावना, आपसी समझदारी र सहयोगले गा“सिएको गहिरो एवं वृहत् सम्बन्ध रहेको बताए ।
‘दुई देशबिचका सम्बन्धहरू सार्वभौमिक समानता, असल छिमेकीपन, आपसी सम्मान र पारस्परिक विश्वासका सिद्धान्तमा आधारित छन्’ उनले भने, ‘नेपाल र भारतबिच सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक सम्बन्ध एवं जनस्तरको घनिष्ठ सम्बन्धको शताब्दियौँ पुरानो परम्परा छ ।’ हालैका वर्षहरूमा नेपाल–भारत सहयोग र विकास साझेदारी, विशेष गरी सीमापार पूर्वाधार विकास र ऊर्जा क्षेत्रमा राम्रो गति लिएकोमा खुसी व्यक्त गर्दै उनले भने, ‘मित्रराष्ट्र भारतले सामाजिक–आर्थिक विकासमा निरन्तर प्रगति गरिरहेको र अन्तर्राष्ट्रिय शक्तिको रूपमा उदाउँदै गएकोमा हामीलाई खुसी लागेको छ ।
‘जी–टू’ को सफल अध्यक्षता गरी समूहका लागि महत्त्वपूर्ण उपलब्धिहरू हासिल गर्न सकेकोमा हामी भारतलाई बधाई दिन्छौँ ।’