केपी ओली समकालीन नेपाली राजनीतिका सर्वाधिक प्रतिभाशाली नेता : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली राजनीतिक सर्वाधिक प्रतिभाशाली नेताहरुको रुपमा चित्रण गरेकी छन् । मंगलवार काठमाडौंमा आयोजित एक समारोहकाबीच ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण गर्दै पूर्वराष्ट्रपति भण्डारीले ओली सबैका लागि सदैव प्रेरणा र ज्ञानको स्रोतको रुपमा रहन सक्ने नेता भएको समेत बताइन् । ओलीले संसदमा गरेका भाषणहरु पनि राजनीतिक हिसाबले मात्रै नभएर बहुविधागत ज्ञानका दृष्टिकोणले समेत महत्वपूर्ण रहेको उनको भनाइ थियो ।
उनले भनिन्, ‘यस पुस्तकका नायक श्री केपी शर्मा ओलीज्यु समकालिन राजनीतिक नेताहरुमा पृथक पहिचान बनाउनुभएको नेता हुनुहुन्छ । सर्वाधिक प्रतिभाशाली नेताको रुपमा उच्च स्थान प्राप्त गर्न सफल उहाँ नेकपा एमालेको अध्यक्ष र प्रधानमन्त्री समेत भइसक्नुभएको व्यक्तित्व हुनुहुन्छ । उहाँ राजनीतिक साथै कला, साहित्य, संस्कृति एवं धर्म दर्शन र विज्ञान लगायतका विषमा समेत गहन ज्ञान भएको नेता हुनुहुन्छ । सघन अध्ययन र संघर्षमय जीवनको लामो अनुभवले खारिनुभएका नेता ओली हाम्रा लागि सदैव प्रेरणा र ज्ञानको स्रोत हुनुहुन्छ ।’