प्रधानमन्त्री प्रचण्ड र ओलीको भेटमा के भयो कुराकानी ?
काठमाडौं, १९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार बिहान सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डसँग वार्ताको लागि पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली सिंहदरबार पुगेका हुन् । भेटवार्ता पश्चात सिंहदरबारबाट बाहिरिँदै ओलीले प्रधानमन्त्रीसँग समसामयिक विषयमा छलफल भएको जानकारी दिए । उनले प्रधानमन्त्रीसँग समसामयिक विषय र शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने सन्दर्भमा छलफल भएको बताए ।
विधेयकलाई राम्रोसँग छिटो टुंग्याउने बारेमा प्रधानमन्त्रीसँग छलफल गरिएको उनले जानकारी दिए । सरकारले बहुमतबाट विधेयक पास गर्ने भनिरहेकोबारे पत्रकारको जिज्ञासामा ओलीले टीआरसीमा एमालेको अडान कायमै रहेको बताए । उनले भने, ‘बहुमतले किन पास गर्नुपर्यो राम्रो बनाएर सहमतिमा पास गरे भइगो नि !’ पीडितमैत्री विधेयक बनाउनुपर्ने अडान एमालेको यथावत् रहेको उनले बताए ।