नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान र संवाद यात्रा स्थगित
काठमाडौं । नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान र महामन्त्री गगन कुमार थापाको संवाद यात्रा स्थगित भएको छ । केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनको शोकमा ‘समुदायमा कांग्रेस’ अभियान र संवाद यात्रा स्थगित भएको हो । समुदायमा कांग्रेस अभियान यही माघ १६ गतेदेखि सुरु भएको उक्त अभियानका लागी माघ १३ गतेदेखि नै सबै जिल्लामा केन्द्रीय प्रतिनिधि र सातै प्रदेशमा शीर्ष नेताहरु खटाइएको थियो । तर पूर्वमन्त्री एवम् पार्टी केन्द्रीय सदस्य बुढाथोकीको निधनका कारण अभियान र संवाद यात्रा दुवै स्थगित भएको छ ।
बुढाथोकीको निधन भएपछि कांग्रेसले आज बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । बैठकले बुढाथोकीको निधनमा शोक प्रकट गर्दै एक दिन पार्टीको झण्डा आधा झुकाउने र तीन दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने परम्पराअनुसार निर्णय गर्ने महामन्त्री गगन थापाले बताएका छन् । पूर्वमन्त्री समेत रहेका बुढाथोकीको गएराति विराटनगरमा उपचारको क्रममा निधन भएको थियो ।