पाँच लाख घुससहित पक्राउ परेका वडाध्यक्ष कार्की विरुद्ध मुद्दा दायर
प्रकाशित मिति: बुधबार, माघ २४, २०८० | १६:५६:१३
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख घुस सहित पक्राउ परेका बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ का वडाध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उपमहानगरपालिका वडा नम्बर तीनका वडा अध्यक्ष कार्कीले घरबाटो सिफारिस गरि भन्दै सेवाग्राहीसँग घुस लिएको सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, हेटौंडाबाट खटिएको टोलीले सेवाग्राहीबाट पाँच लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा वडाध्यक्ष कार्कीले घरबाटो सिफारिस गर्ने भन्दै सेवाग्राहीसँग घुस माग गरी लिएको पुष्टी भएपछि उनीविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १० बमोजिमको कसुरमा बुधबार बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।
प्रकाशित मिति : बुधबार, माघ २४, २०८० |
१६:५६:१३
2047