कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता हुँदै
काठमाडौं । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता हुने भएको छ । पहिचान सहितको कोशी प्रदेशको पुनःनामाङकन गरिनुपर्ने लगायत माग गर्दै आन्दोलन गर्दै आएको समितिले आज सरकारसँग वार्ता गर्न लागेको हो । पहिचान पक्षधरहरुले सरकासँग वार्ताका लागि ११ सदस्यीय समिति गठन गरेको छ । प्रदेश सरकार र पहिचान पक्षधरबीचको वार्ता दिँउसो ३ बजेपछि विराटनगरमा सुरु हुनेछ । ६ माघमा बसेको मन्त्रिपरिषदको बैठकले पहिचान पक्षधरसँग वार्ता गर्न भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जवेगुको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो ।
वार्ता समितिको सदस्यमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल छन् । वार्ता टोलीले १२ माघमा संयुक्त संघर्ष समितिलाई वार्ताका लागि पत्र पठाएको थियो । २४ माघमा बसेको संयुक्त संघर्ष समितिको बैठकले वार्तामा जाने निर्णय गर्दै वार्ता समिति गठन गरेको थियो । समितिले आज सरकारसँग वार्ता गर्ने पहिचान पक्षधर नेता अर्जुन जम्नेली राईले बताए ।
गत फागुन १७ गतेको प्रदेश सभा बैठकले प्रदेशको नाम कोशी पारित गरेपछि पहिचान पक्षले पुनःनामकरणको माग गर्दै विरोध गर्दै आएका छन् । सो क्रममा पहिचान पक्षका पदम लिम्बुको मृत्यु भएपछि विरोधको कार्यक्रम थप सशक्त बन्दै आएको छ । उनीहरुले संघीय र प्रदेश मन्त्री तथा सांसदलाई आफनो निर्वाचन क्षेत्रमा आउजाउमा समेत अवरोध गर्दै आएका छन् । एमालेका हिक्मतकुमार कार्की नेतृत्वको तत्कालीन सरकारले २०७९ फागुन १७ मा प्रदेशको नाम कोशी राखेपछि पहिचानका आधारमा नाम राख्नुपर्ने मागसहित पहिचान पक्षधरहरु आन्दोलनमा उत्रिएका हुन् ।