काठमाडौँ महानगरले सार्वजनिक स्थलमा १ हजार ९५० सेट डस्टबिन राख्दै
काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा १ हजार ९५० सेट डस्टबिन राख्ने भएको छ । सार्वजनिक स्थलका उपभोक्ताले उत्पादन गरेको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न काठमाडौँ महानगरपालिकाले १ हजार ९५० सेट संकलन बिन राख्ने भएको हाे ।एउटा सेटमा २ वटा बिन हुन्छन् । यसमध्ये हरियो बिन कुहिने र रातो बिन नकुहिने फोहोरका लागि हो । महानगरपालिकाले सबै ठाउँमा एकैपटक काम गर्दा नतिजा आउन नसक्ने भएकाले नमुनाका लागि वडा नम्बर २७ बाट वर्गीकरण भएको फोहोरमात्र संकलन गर्न थालेका छन् ।
यसरी राखिने सेट दुई प्रकारका छन् । पहिलो खाले सेट सानो आकारको हुन्छ । यसमा राखिने एउटा बिनको क्षमता ७० लिटरको हुनेछ । १.२ मिटर उचाइ, १.२३ मिटर चौडाइ र २५.५५ किलोग्राम तौलको फलामे स्ट्याण्डमा बिन राखिनेछन् । यसमा राखिने स्ट्यान्डको मूल्य ५ हजार १ सय ५० रुपैयाँ र डस्टबिन प्रतिसेट २ हजार ९ सय ५० रुपैयाँ हो । यस्ता बिन ३ सय सेट राखिनेछन् । मध्यम आकारका सेटमा १.३ मिटर चौडाइ र १.४ मिटर उचाइ भएको स्ट्यान्ड हुनेछ । १ सय २५ लिटर क्षमताका दुइटा बिन राखिनेछन् ।
यसमा प्रयोग हुने स्ट्यान्डको मूल्य ५ हजार ४ सय ५० रुपैयाँ र बिनको ३ हजार ८ सय ९० रुपैयाँ हो ।विभागकाअनुसार यो मुल्य कर बाहेकको हो । खुला प्रतिस्पर्धाबाट लिइने यी सामग्रीमध्ये केही सेट महानगरपालिकामा आइसकेका छन् । बिनको माथिल्लो भागमा कुन प्रकारको फोहोर हाल्ने भाँडो हो भन्ने लेखिएको हुनेछ । यी सेटहरू वडासँग समन्वय गरेर फोहोर व्यवस्थापन कार्यमा खटिने नाइकेहरूको जिम्मामा राखिनेछ । हरेक सेटमा नम्बर दिइएको छ । यसका आधारमा कुन सेट कसको जिम्मामा छ भन्ने थाहा हुन्छ ।