मन्त्रालय बाँडफाँट गर्न सत्ता गठबन्धनको बैठक बस्दै
काठमाडौं । नयाँ सत्ता गठबन्धनको बैठक आज दिउँसो बस्ने भएको छ ।मन्त्रालयको टुंगो लगाउन नयाँ गठबन्धनको बैठक दिउँसो २ बजे बस्न लागेको हो । सत्ता नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रको नेतृत्वमा सोमबार मात्र एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको गठबन्धन बनाई मन्त्रिपरिषद् पुनर्गठनसमेत भइसकेको छ । तर मन्त्रालय बाँडफाँटका विषयमा निर्णय गर्न बाँकी छ। त्यसका लागि सोमबारै चार सदस्यीय कार्यदल गठन गरिएको छ ।
मन्त्रीहरुको बाँडफाँडका लागि एमालेबाट महासचिव शंकर पोखरेल, नेकपा (माओवादी केन्द्र) बाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा. स्वर्णिम वाग्ले र जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र श्रेष्ठ खटिएका छन् । यसअघि सोमवार बिना विभागीय मन्त्रीको रुपमा एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्यालले मन्त्रीको शपथग्रहण गरिसकेका छन् ।