राम्रो गर्नैपर्ने आफैंमाथि प्रेसर छ : सञ्चारमन्त्री शर्मा
काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पदभार ग्रहण गर्दै आफूहरुले अब राम्रो गर्न नसके पनि नराम्रो नगरौं भन्दा मात्रै नपुग्ने बताएकी छन् । शपथ लगत्तै सिंदरबारमा पुगेर पदबहाली गरेकी शर्माले आफूहरुलाई अब राम्रो गर्नैपर्ने आफैंमाथि प्रेसर रहेको बताइन् । ‘यो कार्यकाल मैले चुनौतीको रुपमा पनि लिएकी छु, मलाई भरोसा गरेर दोस्रोपटक अवसर प्राप्त भएको छ । अब हामीलाई नराम्रो नगरेर मात्रै नपुग्ने भएको छ’, उनले भनिन्, ‘हामीले राम्रो गर्नै पर्ने आफैंमाथिको प्रेसर रहेको छ ।’ उनले नेपालमा व्याण्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे) को सम्भावना अध्ययनका लागि समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेकी छन् ।
उनले हाल नेपालमा अन्तर्राष्ट्रिय इन्टरनेट व्याण्डविथको आयात तथा वितरणको अवस्था, नेपालमा व्याण्डविथ प्लेटफर्मको सम्भावना र सान्दर्भिकताको अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउने गरी पहिलो निर्णय गरेकी छन् । पदबहालीपछि मन्त्री शर्माले सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्न सबै गम्भीर भएर अघि बढ्नुपर्ने बताइन् । उनले सुशासनको यात्रामा अब कुनै पनि बहानामा काम नगर्ने छूट नरहेको उल्लेख गरिन् । यसअघि शर्माले २०७९ माघ ३ गतेदेखि विसं २०८० फागुन २१ गतेसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन् ।