टिकटक माथि प्रतिबन्ध लगाउने विधेयक अमेरिकी सदनबाट पारित
काठमाडौँ । टिकटकले उसको चिनियाँ मूल कम्पनीसँग सम्बन्ध विच्छेद गर्न वा संयुक्त राज्य अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने विधेयक अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट बुधबार पारित भएको छ । भिडियो शेयरिङ गर्न मिल्ने चिनियाँ एप टिकटकका लागि यो कानुनले ठूलो धक्का दिने विश्लेषकहरूले बताएका छन् । टिकटकले विश्वभर लोकप्रियतामा वृद्धि गरेको छ तर यसको चिनियाँ स्वामित्व र बेइजिङमा कम्युनिस्ट पार्टीको सम्भावित अधीनले विश्वसामस चिन्ता पैदा गरेको छ । टिकटकका बिषयमा राजनीतिक रूपमा विभाजित वासिङ्टनमा एकताको दुर्लभ क्षण सिर्जना भएको छ ।
सांसदहरूले प्रस्तावित कानूनको पक्षमा ३५२ र विपक्षमा ६५ मत दिएका छन् । रिपब्लिकन र डेमोक्र्याट दुवैले चुनावी वर्षमा टिकटकका भावुक युवा प्रयोगकर्ताहरूको क्रोधको जोखिम उठाएपछि एप प्रयोगको विपक्षमा आएको चेतावनीले धेरैलाई आश्चर्यचकित पारेको छ । अमेरिकी निर्वाचनमा युवाहरूको भावना र भूमिकालाई महत्वपूर्ण मानिन्छ । अमेरिकी प्रतिनिधि सभाका सभामुख माइक जोनसनले मतदानपछि भने, “आजको मतदानमा द्विदलीय एकताले चीनले अमेरिकीहरूमाथि जासुसी गर्ने र छलछाम गर्ने प्रयासको विरोध गरेको देखाउँछ र हाम्रा शत्रुहरूलाई रोक्ने हाम्रो सङ्कल्पलाई सङ्केत गर्दछ ।”
उनले भने, “म सिनेटलाई पनि यो विधेयक पारित गर्न र राष्ट्रपतिलाई पठाउन आग्रह गर्दछु ताकि उनले यसलाई कानूनको रूपमा मान्यता दिन हस्ताक्षर गर्न सक्नेछन् ।” यो विधेयकको भविष्य सिनेटमा अनिश्चित रहेको छ । सिनेटमा १७ करोड अमेरिकी प्रयोगकर्ताहरूले प्रयोग गर्दै आएको एपविरुद्ध कठोर कदम चाल्नेबारे अझै केही अमेरिकी विधायक अनिर्णित र केही पक्षमा नै देखिन्छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले ‘प्रोटेक्टिङ अमेरिकन्स फ्रम फरेन एड्भर्सरी कन्ट्रोल्ड एप्लिकेसन एक्ट’ नामक विधेयकमा हस्ताक्षर गर्ने ह्वाइट हाउसले जनाएको छ ।
“यो प्रक्रिया गोप्य थियो र विधेयकलाई एउटा कारणले जाम गरिएको थियोः यो प्रतिबन्ध हो,” टिकटकका प्रवक्ताले एक विज्ञप्तिमा भने । “हामी आशावादी छौं सिनेटले तथ्यहरू विचार गर्नेछ, उनीहरूका घटकहरूलाई सुन्नेछ र ७० लाख साना व्यवसायहरू र हाम्रो सेवा प्रयोग गर्ने १७ करोड अमेरिकीहरूसँगको प्रभाव र अर्थव्यवस्थामा पर्ने असर महसुस गर्नेछ । मतदानपछि टिकटकका प्रमुख कार्यकारी अधिकृत शो जी च्यूले संयुक्त राज्य अमेरिकामा एपका प्रयोगकर्ताहरूलाई आफ्ना सिनेटरहरू सहित आफ्ना कथाहरू बोल्न र साझा गर्न आग्रह गरेका थिए ।
सामाजिक सञ्जाल एक्समा पोस्ट गरिएको एक भिडियोमा उनले भने, “हामी यो अद्भुत प्लेटफर्मको सुरक्षाका लागि हाम्रो कानुनी अधिकारको प्रयोगसहित सबै कार्य जारी राख्नेछौं ।” “हामीलाई विश्वास छ हामी (टिकटक र यसका प्रयोगकर्ता) मिलेर यस अवरोधको अवस्थालाई पार गर्न सक्छौं । आफ्नो संवैधानिक अधिकारको रक्षा गर्नुहोस् । तपाईहरू आफ्ना आवाजहरूलाई अमेरिकी जनता र विश्वसामु सुनाउन कानुनी सङ्घर्ष जारी राख्नुहोस् ।” सिनेटमा विधेयकलाई पारित गर्न सिनेट नेता चक शुमरको समर्थन आवश्यक रहेको छ ।
उनले विधेयक सदनबाट पारित भएपछि मात्र सिनेटले कानूनको ‘समीक्षा’ गर्नेछ भनी बताए । टिकटकको मूल कम्पनी बाइटडान्सले १८० दिनभित्र एप बिक्री गर्न वा अमेरिकामा एप्पल र गुगल एप स्टोरबाट प्रतिबन्धित बन्नुपर्नेछ ।