काठमाडौं आइपुगे भारतीय विदेश सचिव मिश्री
चितवन , २७ साउन । भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुगेका छन् । दुई दिने भ्रमणका लागि नेपाल आएका मिश्री बिहान १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । नेपाल बसाइका क्रममा विदेश सचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवासहित शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेश सचिव मिश्रीले समकक्षी सेवा लम्साल र परराष्ट्रका उच्च अधिकारीहरूसँग पनि भेट्ने कार्यक्रम छ ।
विदेश सचिव मिश्रीको नेपाल भ्रमण नियमित भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । उनको भ्रमणले नेपाल-भारतबी द्विपक्षीय सहकार्य र सम्बन्धलाई अघि बढाउन मद्दत गर्ने विश्वास लिइएको छ। विदेश सचिव मिश्री सोमबार स्वदेश फर्किनेछन् । मिश्री गत असार १४ गते भारतको विदेश सचिवमा नियुक्त भएका थिए ।