१ रुपैयाँमै खेलेका थिए सलमानले ‘फिर मिलेंगे’ फिल्म
चितवन, २८ भदौ । फिल्म ‘फिर मिलेंगे’ मा सलमान खानले एचआईभी बिरामीको भूमिका निभाएका थिए । निर्माता शैलेन्द्र सिंहले यो फिल्ममा एचआइभी बिरामीको भूमिका निभाउन कुनै पनि कलाकार तयार नभएको खुलासा गरेका छन् । त्यसपछि सलमान भने राजी भएको उनले बताए ।
निर्माता सिंहका अनुसार सलमानले यस फिल्ममा अभिनय गरेबापत पारिश्रमिकका रुपमा १ रुपैयाँ मात्र लिएका थिए । हालै इन्स्टाग्राम ह्यान्डलमा भिडियो सेयर गर्दै शैलेन्द्र सिंहले भने, ‘सलमान खानले फिल्मका लागि एक रुपैयाँ मात्रै शुल्क लिएका थिए । फिल्ममा, उनले मुख्य भूमिका निभाएका थिए, जो एचआईभी संक्रमित हुन्छन् र क्लाइमेक्समा मर्छन्। बलिउड उद्योगबाट कोही पनि यस्तो भूमिका गर्न तयार थिएनन् । त्यसपछि मैले सलमान खानलाई फोन गरेँ । उनी सहमत भए।’
‘क्लाइमेक्समै सलमानको मृत्यु हुन्छ । पक्कै पनि उनका फ्यानहरु खुसी हुने छैनन् । तर यसले सिंगो देशलाई सन्देश दिएको छ । यो फिल्म हलमा मात्रै रिलिज भएन, टेलिभिजनमा पनि देखाइयो’ निर्माता सिंहले भने । फिल्म ‘फिर मिलेंगे’ सन् २००४ मा रिलिज भएको थियो । फिल्मलाई रेवतीले निर्देशन गरेकी हुन् । यसमा सलमान खानका अलावा शिल्पा शेट्टी र अभिषेक बच्चनले पनि काम गरेका थिए । ५.५० करोडमा बनेको यो फिल्मले ५.४३ करोड कमाएको थियो ।