अभिनेता विपिन कार्कीले सुरु गरे फिल्म उपकरण व्यवसाय, ६ करोड लगानी
चितवन, ०८ साउन । अभिनेता विपिन कार्की, छायांकार चिन्तन राजभण्डारीसहितका साझेदारहरूले ‘लाइट वेन्डर्स’ नामक कम्पनी स्थापना गर्दै फिल्म छायांकन तथा प्रोडक्सन व्यवस्थापनसम्बन्धी उपकरण व्यवसाय सुरु गरेका छन्।
श्याम खड्का र एरिस थापा पनि साझेदार रहेको कम्पनीले नेपालमा हुने फिल्म छायांकनका लागि ग्रीप ट्रक, लाइट तथा अन्य अत्याधुनिक उपकरण उपलब्ध गराउने जनाएको छ। कम्पनीले हाल साढे ६ टन, साढे ३ टन र २ टन क्षमताका तीन वटा ग्रीप ट्रक सञ्चालनमा ल्याएको छ।
ताइवानबाट ४० फिट अग्लो क्रेन, आरी ब्रान्डको अर्बिटर, डली, फ्रेमलगायतका उपकरण आयात गरिएको कम्पनीले जनाएको छ। पहिलो चरणमै करिब ६ करोड रुपैयाँ लगानी भइसकेको अध्यक्ष विपिन कार्कीले जानकारी दिएका छन्।
उनका अनुसार आधुनिक उपकरणको प्रयोगले छायांकनमा समय र जनशक्तिको बचत हुने तथा १० जनाले गर्ने काम दुई जनाले नै सम्पन्न गर्न सक्नेछ।


















