दक्षिणपूर्व एसियाका अनलाइन स्क्यामिङ सेन्टरबाट ८३६ नेपालीको उद्धार
चितवन, २६ आषाढ । सरकारले कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा क्षेत्रमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा परेका ८३६ नेपालीको उद्धार गरिएको जनाएको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलका अनुसार उद्धार गरिएकामध्ये कम्बोडियाबाट ७०९, म्यानमारबाट ११३, लावसबाट ८ र थाइल्याण्डबाट ६ जना रहेका छन्। मन्त्रालयले प्रभावित नेपालीको उद्धार र यसबारे जनचेतना अभिवृद्धिका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल भइरहेको जनाएको छ।
मन्त्रालयका अनुसार दूतावासको पहलपछि कम्बोडिया सरकारले भिसा अवधि नाघेका नेपालीको शुल्क र जरिवाना मिनाहा गर्ने विषयमा सहकार्य गरेको छ। यस वर्ष मात्रै ६०२ नेपालीको भिसा शुल्क तथा जरिवाना मिनाहा गरिएको जानकारी पनि मन्त्रालयले दिएको छ।
यसैबीच, राहदानी सेवालाई थप सहज, प्रभावकारी र प्रविधिमैत्री बनाउन सरकारले राहदानी ऐन, २०७६ को पहिलो संशोधन विधेयक सार्वजनिक रायका लागि वेबसाइटमा राखेको छ। साथै, छापिएका राहदानी छिटो सम्बन्धित जिल्ला र इलाका प्रशासन कार्यालयमा पुर्याउन हुलाक विभागसँग सम्झौता लागू भइसकेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले अब नागरिकले आफू जहाँ बसेको भए पनि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सक्ने व्यवस्था लागू गर्ने तयारी भइरहेको पनि जानकारी दिएको छ।
























