त्रिशूलीमा मोटरसाइकल खस्यो
प्रकाशित मिति: आइतबार, बैशाख ०७, २०८२ | १९:४६:३२
चितवन, ०७ वैशाख । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरबाट एक यात्रु सहितको मोटरसाइकल त्रिशूली नदीमा खसेको छ । आइतबार दिउँसो काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश– ०५४ प ४०५४ नम्बरको मोटरसाइकल कृष्णभीरबाट करिब २०० मिटर तल त्रिशूली नदीमा खसेको थियो ।
नदीबाट अचेत अवस्थामा एक व्यक्तिको उद्धार गरिएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बताए । अचेत अवस्थामा उद्धार गरिएका युवाको साथबाट सिन्धुलीको तीनपाटन गाउँपालिका–९ ठेगाना भएको मीनबहादुर तामाङ नामको मतदाता परिचयपत्र समेत प्रहरीले फेला पारेको छ ।
उद्धार गरिएका व्यक्ति अचेत रहेकाले उनको पहिचान हुनसकेको छैन भने उक्त मोटरसाइकलमा समेत उनी मात्रै थिए अर्को व्यक्ति पनि सवार थिए भन्ने यकिन हुन नसकेको एसपी सुवेदीले बताए ।
प्रकाशित मिति : आइतबार, बैशाख ०७, २०८२ |
१९:४६:३२
573