बेनी–जोमसोम सडकमा पहिराेले यातायात सेवा प्रभावित
चितवन, २१ असोज । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुवारीमा गएको पहिरोका कारण कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ। यो सडक म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामार्फत मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मात्र होइन, चीन र भारतसँगको व्यापारिक मार्ग पनि हो।
कालीगण्डकी नदीको किनारदेखि भगवतिको माझखर्कसम्म जमिन फाटेर ठूला–ठूला चिरा परेपछि सडक बीचमै पहिरो खसेको र आवागमनमा समस्या परेको छ। यातायात व्यवसायी भोजबहादुर थापाका अनुसार सिरुवारी र खामभित्ताको पहिरोले सडक साँघुरो र हिलाम्मे बनेको छ, जसले सवारी साधनलाई जोखिमपूर्वक आवतजावत गर्नुपर्ने अवस्था सिर्जना गरेको छ।
“सामान्य वर्षा भए पनि पहिरो खसेर सडक अवरुद्ध हुने गर्छ,” थापाले भने, “सवारी गुडिरहेका बेला माथिबाट ढुंगा खस्ने, यात्रु घाइते हुने जोखिम बढेको छ, त्यसैले अत्यन्त सावधानी अपनाउँदै यातायात सञ्चालन गर्दै आएका छौं।”
सडकमुनी कालीगण्डकी नदी बगिरहेको र माथि करिब आठ सय मिटर लामो तथा दुई सय मिटर चौडाइको पहिरो फैलिएको छ। पहिरोले माझखर्क बस्तीलाई समेत जोखिममा पारेको छ। कोरला नाका हुँदै आउने–जाने ठूला कन्टेनर र मुस्ताङतर्फका यात्रुबाहक बसहरू सिरुवारी क्षेत्रमा जाम हुने गरेका छन्। रघुगङ्गा गाउँपालिका–१ का वडा सदस्य बलमान गौचनका अनुसार सडक साँघुरो भएकाले दुईतर्फी सवारी सञ्चालन गर्न सकिँदैन।
यस बर्खामा सिरुवारी र खामभित्तामा सबैभन्दा बढी सडक अवरोध भएको बताइएको छ। बेनी–जोमसोम–कोरला सडक आयोजनाले पहिरो प्रभावित क्षेत्रमा डोजर र लोडर तयारी अवस्थामा राखेको छ। “बर्षा रोकिएपछि पहिरो पन्छाएर सडक सफा गरी दुईतर्फी सवारी सञ्चालन गर्ने तयारीमा छौं,” आयोजनाका इञ्जिनियर विष्णु चापागाईंले भने।
उनका अनुसार सिरुवारीको ठूला पहिरोको स्थायी समाधानका लागि अध्ययन भइरहेको छ भने तत्कालका लागि मर्मत गरेर आवागमन खुलाइएको छ। साथै, बेनी–जोमसोम सडकमा पर्ने चमेरे, बैसरी, गुइठेभिर, लाटाखोला र रुप्से क्षेत्रका पहिरो प्रभावित भागमा ढलान र रोकथामका लागि ठेक्का सम्झौता प्रक्रियामा रहेको जानकारी पनि उनले दिए।


















