झापामा रात्रिबस दुर्घटना : १९ जना यात्रु घाइते, बस १० मिटर तल खस्यो
चितवन, ११ कार्तिक । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिक आज बिहान भएको रात्रिबस दुर्घटनामा १९ जना यात्रु घाइते भएका छन्। मन्थलीबाट काँकडभिट्टा जाँदै गरेको प्र१–०१–००१क ४२०९ नम्बरको बस पूर्व–पश्चिम राजमार्गमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर पल्टिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार घाइते १९ जनालाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड पठाइएको छ। बाँकी छ जना यात्रु सकुशल आफ्ना गन्तव्यतर्फ गएका छन्। करिब २५ जना यात्रु सवार उक्त बस सडक किनारमै पल्टिए पनि यातायात आवागमन प्रभावित नभएको प्रहरीले जनाएको छ।
दुर्घटनामा झापा मेचीनगर–६ का बस चालक ३९ वर्षीय राजु भुजेल, झापा गाउँपालिका–३ की १७ वर्षीया इक्षा लिम्बू, कचनकवल–४ का २० वर्षीय रविलाल गणेश, २१ वर्षीया परिना गणेश, बिर्तामोड–१० की ३६ वर्षीया सिमित्रा खड्का कार्की र उनका नौ वर्षीय छोरा एलोन घाइते भएका छन्।
त्यसैगरी, रामेछाप मन्थली–१० का ६५ वर्षीय अम्बरबहादुर बुढाथोकी, मन्थली–९ का ३५ वर्षीय भीमप्रसाद पुरी, खाँडादेवी–३ की ६५ वर्षीया मिटु खत्री, दोलखा बैनेश्वर–३ का ३० वर्षीय प्रदीपबहादुर बस्नेत, रामेछाप देउरालीकी आठ वर्षीया अनु श्रेष्ठ, र दोलखा तामाकोशी–३ का २८ वर्षीय कुमार बस्याल पनि घाइते भएका छन्।
यस्तै, झापा कचनकवल–६ की २७ वर्षीया भेमा राजवंशी, बिर्तामोड–५ का ३५ वर्षीय रामकुमार श्रेष्ठ र उनका नौ वर्षीय छोरा रिदम, सोही स्थानका २३ वर्षीय पूर्णबहादुर नेपाली, १८ वर्षीया शितल नेपाली, बाह्रदशी–५ का २१ वर्षीय अभिषेक राजवंशी, र झापा गाउँपालिका–२ का १८ वर्षीय श्यामलाल किस्कु घाइते भएका छन्।
प्रहरीका अनुसार सबै घाइतेको अवस्था सामान्यदेखि मध्यम रहेको छ र बिर्तासिटी अस्पतालमा उपचार जारी छ। बस अनियन्त्रित भएर पल्टिएको प्रारम्भिक अनुसन्धानमा खुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



















