कांग्रेस विशेष महाधिवेशनमा पुरानै विधानअनुसार निर्वाचन हुने
चितवन, २९ पुष । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनले पार्टीको पुरानै विधानअनुसार निर्वाचन गर्ने भएको छ। विशेष महाधिवेशनद्वारा गठन गरिएको निर्वाचन समितिले आज पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार पुरानो विधानअनुसार एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र १२१ सदस्य पदका लागि निर्वाचन हुनेछ।
विशेष महाधिवेशनले तय गरेको कार्यविधिअनुसार पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको हो, जसको संयोजकत्व वरिष्ठ अधिवक्ता केसीले गरिरहेका छन्।
निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज मध्याह्न २ बजेदेखि ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ता हुनेछ।
निर्वाचन समितिका अनुसार नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा कुल ४ हजार ७४३ जना मतदाता रहेकामा निधन भएका तथा अन्य दलमा प्रवेश गरेका प्रतिनिधि हटाएपछि हाल ४ हजार ६३५ जना महाधिवेशन प्रतिनिधि कायम रहेका छन्।


















