रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धिकरणका अभियोग फिर्ता, सहकारी ठगी मुद्दा यथावत्
चितवन, ३० पुस । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित अपराध र सम्पत्ति शुद्धिकरणका अभियोग फिर्ता लिने गरी सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएको छ। यस निर्णयसँगै कास्की, रुपन्देही, काठमाडौं र पर्सा जिल्ला अदालतमा दायर यी अभियोगहरू फिर्ता लिइनेछन्।
महान्यायाधिवक्ता सबिता भण्डारी बरालले सहकारी ठगीको मुद्दा यथावत् रहने स्पष्ट पार्दै संगठित अपराध र सम्पत्ति शुद्धिकरणका अभियोग मात्रै फिर्ता लिने गरी आरोपपत्र संशोधन गर्न स्वीकृति दिइएको बताइन्। उनका अनुसार यसलाई सम्पूर्ण मुद्दा फिर्ता गरिएको रूपमा बुझ्न नहुने छ।
बुधबार चारवटै जिल्ला अदालतमा चलिरहेका अभियोगपत्र संशोधन गर्न स्वीकृति दिइएको यस निर्णयपछि कास्की जिल्ला अदालतमा चलिरहेको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ता हुनेछ।


















